इनरुवा । लामो समयको प्रयासपछि जिल्ला अस्पताल सुनसरी इनरुवामा रक्त संचार केन्द्र सञ्चालनमा आएको छ ।
इनरुवा नगरपालिका र भोक्राहानरसिंह गाउँपालिकाको विशेष सहयोगमा रहेको रक्त संचार केन्द्र विश्व रक्तदाता दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको हो ।
अस्पतालले जिल्ला प्रशासन कार्यालय सुनसरी र नेपाल रेडक्रस सोसाइटी सुनसरी सँगको समन्वय र सहकार्यमा ब्लड बैंकको सेवा सञ्चालनमा ल्याएर सेवाग्राहीलाई सहज वनाएको छ । अस्पताल हातामा सञ्चालनमा ल्याइएको ब्लड बैंकले अस्पतालमा आउने रगत आवश्यक पर्ने विरामीहरुका लागि महत्वपुर्ण योगदान पुर्याउने कार्यक्रमका वक्ताहरुले जोड दिए ।
अस्पतालका निमित्त मेसु डा. देवराज घिमीरेले ब्लड बैंक सञ्चालनलाई अस्पतालले ठुलो उपलब्धि मानेको छ भन्दै अस्पताल आइसीयु सेवा समेत संचालनको तयारीमा जुटेको समेत जानकारी दिएका थिए । 
ब्लड बैंक सञ्चालन तथा रक्तदान कार्यक्रमका कोशी प्रदेश सभा सदस्यहरु रामप्रसाद मेहता , सदानन्द मण्डल , निरा आचार्य , सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी , कोशी गाउँपालिका अध्यक्ष अयुव अन्सारी सहित विभिन्न राजनितिक दलका , सरकारी निकाय , सामाजिक संस्था लगायतका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा बहुसंख्यक सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा नेपाली सेनाको कृष्णदल गण इटहरी , सशस्त्र प्रहरी बल नेपाल ४नम्बर गण र जिल्ला प्रहरी कार्यालय सुनसरीका सुरक्षाकर्मीहरु , विभिन्न संघ संस्था , सरकारी कर्मचारी लगायतले रक्तदान गरेका थिए ।




















