बेल्टार/ वर्षाको पानीमा भरपर्दै आएका उदयपुरको बेल्टार क्षेत्रका किसानहरु लामो समय देखि वर्षा नभएकाले मकैबाली सुक्न थालेपछि चिन्तित बन्न पुगेका छन । बेल्टारको भुल्के क्षेत्रका किसानहरुको पहिलो रोजाईमा पर्ने मकैबाली खडेरीका कारण सुकेर पँहेलो बनेपछि किसानहरुलाई आगामी वर्षका लागि बिऊ जोगाउन समेत नसकिने चिन्ताले सताउन थालेको हो ।

ठुलो क्षेत्रफलमा मकैबाली लगाउने गरिएको यस क्षेत्रमा मकैमा धानचमर आएपनि घोगा लाग्ने समयमा भने खडेरी सुरु भएर नोक्सान पुर्याएको किसानहरु गुनासो गर्दछन । लामो समय देखि वर्षा नभएर खडेरी सुरु भएपछि मकै मात्र नभएर अन्य बालीहरु समेत सुक्न थालेका छन । आइतवार फाट्फुट् वर्षा भएपनि मकै तथा अन्य बालीका लागि भने प्रयाप्त नभएको किसानहरुको गुनासो रहेको छ ।वर्षा नभएका कारण मकै लगायतका बालीहरु सुकेर किसानहरु चिन्तित बनिरहेको समयमा मनसुन भित्रन अझै समयमा लाग्ने मौषम विज्ञहरुले  पुर्व अनुमान गरिरहेका छन ।