काठमाडौं । यस वर्ष मनसुनको समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले आज एक कार्यक्रमको आयोजना गरी यस वर्षको मनसुन समय जेठ १८ देखि असोज १३गते सम्मको हावापानी आकलन प्रक्षेपण गरेको हो।
विभागले सन् २०१३ देखि हरेक वर्ष मनसुनको समय सुरु हुनुपूर्व ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको हावापानी आकलन सरोकारवालालाई प्रवाह गर्दै आइरहेको छ ।
आगामी मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । कोशी प्रदेशका मध्य तथा उत्तरपूर्वी भू(भाग, बागमती प्रदेशका दक्षिण(पूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भुभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।यसैगरी अधिकतम् तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ रहेको विभागले जनाएको छ ।
यस कार्यक्रमको प्रमुख उद्देश्य आगामी मनसुन समयको वर्षा तथा तापक्रमको ऋतुगत आकलनबारे जानकारी गराइनाका साथै छलफलमार्फत सरोकारवालाको आवश्यकता पहिचान गरी सोहीअनुसार विभागको सेवा प्रवाहको सुदृढीकरण, सरोकारवालालाई मौसम तथा जलवायु सूचनाका बारेमा जानकारी गराइ आ(आफ्नो क्षेत्रको आगामी योजना तर्जुमालगायत जलवायु सूचित निर्णय प्रक्रियामा सहयोग पुर्याउनु रहेको विभागको भनाइ छ।




















