सुनसरी । पुर्वी तराइमा गर्मी बढेको छ । गर्मी बढेसँगै बिद्युतको खपत बढ्ने बेलामा ‘बिजुली आपूर्ति मा कमी आएको छ । ग्राहस्थ खपत बढेसँगै सुनसरी–मोरङ औद्योगिक करिडोर ‘लाईट लोड र हाफ लोड’ को समस्या दैनिक बढाउँदै लगिएको छ । आन्तरिक र आयात ले माग धान्न नसक्दा उद्योगहरुलाई सेड्युल तोकेर आपूर्ति गर्न थालिएको हो । दुहबी ग्रिडले साँझमा आवश्यक पर्ने सप्लाई दिन सकिरहेको छैन । जसका कारण एका पट्टी कटाएर अर्को पट्टी छोड्नु पर्ने अवस्था रहेको छ । ग्राहथ्य फिडरमा तालिकासहितको लोड सेडिङ्ग गर्नुपर्ने स्थिति छैन तर, ठूला उद्योगहरुमा सेड्युल तोकेर ‘लाईट लोड’ भईरहेको छ । बिहान र साँझ उद्योगहरुलाई लाईट लोड र हाफ लोडमा बस्न प्राधिकरणले अनुरोध गर्दै आएको छ । उद्योगीले अघोषित लोड सेडिङ्ग हुँदै आएकोले उत्पादनमा समस्या भईरहेको गुनसो गरेका छन् ।  भारतको कटैयाबाट आपूर्ति हुने बिद्युत न्यून मात्रै रहेको छ । दुहबी ग्रिडका प्रमुख रोशनकुमार खड्काले २४० मेघावाट आवश्यक पर्नेमा आन्तरिक र भारतबाट ८० मेघावाट आयत भएको बिद्युत सबैतिर पु¥याउनु पर्ने अवस्था आएको बताए । मंगलबार साँझ भने सप्तरीको रुपनीमा १३२ केभी प्रशारण लाइनको सव–स्टेशनको ब्रेकर पड्केर बिद्युत आपूर्ति अवरोध भएको जानकारी गराइएको छ । नेपाल बिद्युत प्राधिकरण दुहबी शाखाका प्रमुख खड्काले भारतको कटौयाबाट आईरहेको ११५ मेघावाट बिद्युत अहिले ८० मेघावाट मात्रै रहेको बताएका छन् । यसैका कारण पूर्वका उद्योगमा बिद्युत आपूर्ति हुन नसकिरहेको खड्काको भनाई छ । कटैया प्रशारण लाइनमा समस्या भएपछि ढल्केबर–मिर्चेया प्रशारण लाइनबाट २०० मेगावाट बिद्युत पूर्व आईरहेको छ । यसैबाट लाहानले ३०, मिर्चैया ३० र रुपनी २५ मेगावाट खपत हुने गरेको छ । कोसी पूर्व ११५ मेगावाट बिद्युत आउने गरेकोमा अहिले घटेको छ । त्यसमा पनि काबेली जलबिद्युत आयोजनाको उत्पादन खस्किएपछि आपूर्ति प्रणालीमा समस्या थपिएको हो ।