सुनसरी, इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा चर्च ब्वाइज क्लबले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान सुरक्षित गरेको हो ।

खेलको ४५ औं मिनेटमा आशिष चापागाईंले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोल अन्तरले अगाडि रहेको चर्च ब्वाइजले खेलको ६१ मिनेटमा थप १ गोल गरेको थियो । टिम क्याप्टेन मिलन राईको पासमा मौसम लिम्बूले दोस्रो गोल गर्दै टिमलाई मजबुत बनाए । खेलमा आयोजक राजा क्लबले गोल गर्ने थुप्रै अवसर पाएपनि गोल गर्न चुक्यो ।

इटहरी रंगशालामा चैत ११ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । यस्तै, खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका प्रसान्त लक्ष्मण घोषित हुँदै नगद १० हजार पाए ।