धरान । किमाथाँका रानी व्यापारी मार्ग विस्तार कार्य अन्तरगत सुनसरीको धरान खण्डमा धेरै व्यक्तिहरुको भौतिक संरचना पर्ने भएकाले कसरी विस्तार गर्ने भन्ने विषयमा छलफल गरिएको छ । उत्तरी तथा दक्षिणी छिमेकी चिन र भारतसंग नेपाल हुँदै छोडिने स्थलमार्गबाट अन्तरगत हालको कोशी राजमार्ग विस्तार कार्य हुँदै आएको छ । तर धरानमा धेरै व्यक्तिका भौतिक संरचनाहरु भत्कने भएकाले सो विषय केन्द्रीत भएर छलफल गरिएको हो । धरानको बजार क्षेत्रमा धेरै भौतिक संरचना मासिने तर्फ मध्यनजर गर्दै छलफलमा सहभागीहरुले ४ लेनको मात्र वनाउने वा वाइपास गर्ने विषयमा सडक विस्तारमा घर पर्ने स्थानीय , राजनितिक दल , स्थानीय वुद्धिजीवी र धरान उपमहानगरपालिका विच छलफल भएको थियो । छलफलका क्रममा धेरैले जोगबनी किमांथाका जोगबनी सडकलाई वाइपास गरेर लानुपर्ने तर्क राखेका थिए भने केहीले बजार क्षेत्रमा ६ लेनको सट्टा ४ लेनको मात्र वनाउनु पर्ने तर्क गरेका थिए । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईको उपस्थितिमा भएको छलफलमा धरान उपमहानगरपालिकाकका पूर्व प्रमुख मनोजकुमार मेन्याङबोले तरहरासम्मको सडक ६ लेनेको रहेको र त्यहाँदेखि माथि तीनकुने सम्मको सडक चार लेनको भएकोले धरान बजार क्षेत्रमा पनि ४ लेनको वनाउनु पर्नेमा सुझाव दिएका थिए ।उनले ४ लेनमा ७२ फुटको बाटो बनिने भएकोले सडक आसपासमा पर्ने जग्गाधनी तथा घरधनी पनि राजी हुने तर्क गरे ।
यस्तै गरी जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुव लिम्बुले दलहरुले सडक विस्तारका विषयमा नगरवासी सर्वसाधारणलाई सहजिकरण हुने गरी सडक विस्तार गरिनु पर्नेमा जोड दिए । विभिन्न खण्डमा विभाजन गरेका सडक विस्तारको कार्य हुदै आएपनि कतिपय ठाउँमा विवादका कारण काम समेत हुन सकेको छैन । सुनसरीकै दुहवी बजार क्षेत्र इटहरीको मुख्य चौक क्षेत्रमा पनि ६ लेन वनाउने विषयको विवादका कारण काम हुन सकिरहेको छैन । यि ठाउँका उत्तर दक्षिणमा काम भएपनि यस क्षेत्रमा भने सडक विस्तारको काम हुन सकिरहेको छैन ।




















