इनरुवा । आत्महत्या हतोत्साहनको संदेशमुलक कार्यक्रम सुनसरी सदरमुकाम इनरुवामा बाँचौ न जीवनभर आयोजना गरियो । सनातन कुटुम्ब नेपालको आयोजना तथा इनरुवा नगरपालिकाको सहयोगमा आत्महत्या गर्नु नहुने संदेशयुक्त कार्यक्रम बाँचौ न जीवनभर आयोजना गरिएको हो । बाँचौन जीवनभर कार्यक्रममा मानव जीवनका विषयमा आध्यात्मिक तथा बैज्ञानिक आधारहरु सहित मानव जीवन सबै भन्दा उत्कृष्ट भएका कारण त्यसै फ्याक्नु नहुने कार्यक्रममा सहभागी वक्ता तथा सहजकर्ताहरुले प्रस्ट्याएका थिए । इनरुवा नगरपालिका क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थी तथा अध्यापन गर्ने शिक्षक शिक्षिकाहरु साथै अन्य मानिसहरुको उल्लेखिय सहभागितामा आयोजित कार्यक्रममा आत्महत्याले परिवार ,समाज , देश र मरेर जाने व्यक्ति समेतलाई पार्ने नकारात्मक पक्ष तथा मानवी जीवनको महत्वका विषयमा धार्मिक तथा वैज्ञानिक मान्यताका विषयमा चर्चा गरिएको थियो । मानिसले जस्तो सुकै अप्ठ्यारो समयमा पनि कसरी आफुलाई शान्त राख्न सक्छ भन्ने विषयमा विज्ञहरुले कार्यक्रममा संदेश दिएको आयोजक सनातन कुटुम्ब नेपालका अशोक चितलांगियाले जानकारी दिए । सोही अवसरमा अशोक चितलांगियाद्धारा लिखित बाँचौ न जीवनभर नामको पुस्तक विमोचन गरियो ।
उक्त पुस्तक सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , इनरुवा नरपालिका प्रमुख केदार भण्डारी , उपप्रमुख विनिता मेहता ,जिल्ला प्रहरी कार्यालय प्रमुख प्रभुप्रसाद ढकाल लगायतले विमोचन गरेका थिए । सो अवसरमा जीवनको महत्वलाई ध्यान दिदै आत्महत्या हतोत्साहनको संदेश मुलक रयाली समेत गरिएको थियो ।




















