धनकुटा । अप्रत्यासित रुपमा आइपर्ने विपद् व्यवस्थापनका विषय केन्द्रीत भएको धनकुटाको छथरजोरपाटी गाउँपालिकामा पुर्व तयारी तथा प्रतिकार्य कृत्रिम अभ्यास गरिएको छ ।
जिल्ला विपद् व्यावस्थापन समिति धनकुटाको आयोजनामा छथरजोरपाटी गाउँपालिका वडा नम्बर ३ चुलाचुलीमा भुकम्प तथा आगलागी जस्ता विपद्का समयमा अपनाउनु पर्ने विधीहरु समावेश गरिएको कृत्रिम अभ्यास गरिएको हो ।
कृत्रिम अभ्यासमा विपद्का समयमा गरिने खोज ,उद्धार , स्वास्थ्य उपचार , राहत , अस्थायी वसोवास लगायतका विषयवस्तुहरु समावेश गरिएको थियो ।
सो क्रममा सुरक्षार्की ,स्थानीय ,रेडक्रस तथा सरकारी तथा गैरसरकारी निकायहरुले गर्नु पर्ने कार्यहरु समेटिएका थिए । त्यसै गरी भुकम्प जाँदा तथा आगलागी हुँदा स्थानीयले अपनाउनु पर्ने सचेतनाका विषयवस्तुहरु कलात्मक रुपमा कृत्रिम अभ्यासमा समावेश गरिएको थियो । कृत्रिम अभ्यासले कसरी चाडो भन्दा चाडो उद्धार र राहत कार्यलाई अगाडि वढाउन सकिन्छ , कसरी विपदको समयमा जनधनको क्षति हुन नदिने वा कम गर्न सकिन्छ भनेर ज्ञान लिन सकिएको शिक्षक श्याम सुवेदीले वताए ।
उनले विद्यार्थीहरुको समेत सहभागितामा भएको कृत्रिम अभ्यास प्रभावकारी हुने अनुमान समेत गरे ।
विपद पुर्व तयारी तथा प्रतिकार्य अभ्यास अन्तरगत अप्रत्यासित रुपमा हुने विपदलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय केन्द्रीत भएर कृत्रिम अभ्यास गरिएको जनाइएको छ । पुर्व जानकारी विना आउने विपदलाई कसरी व्यवस्थापन गर्न सकिन्छ , विपदका समयमा के गर्ने भन्ने विषयवस्तु समावेश गरेर अभ्यास गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी गराएका थिए ।
विपदको समयमा गरीने उद्धार ,खोज , उपचार , राहत , अस्थायी वास लगायतका विषयवस्तु समेटेर गरिएको कृत्रिम अभ्यास कार्यक्रममा नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी , जिल्ला समन्वय समिति , जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवाला अन्य सरकारी तथा गैरसरकारी संस्थामा आवद्ध तथा स्थानीयवासीको उल्लेखिय सहभागिता रहेको थियो ।




















