इटहरी । २४ घण्टे प्रभावकारी रुपमा सुरक्षित सुत्केरी सेवा प्रदान गर्दै आएको परिवार स्वास्थ्य केन्द्र इटहरीमा सुत्केरी सेवा लिन आउनेहरुको संख्या घट्न थालेको छ । नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगत रहेको परिवार स्वास्थ्य केन्द्र इटहरीमा प्रभावकारी रुपमा सुरक्षित सुत्केरी सेवा प्रदान गरिदै आएपनि विमा कार्यक्रम र अप्रेसन सेवा नभएको कारण सेवाग्राही घटेको वताइएको हो । परिवार स्वास्थ्य केन्द्र इटहरीमा अघिल्लो वर्ष २०२१मा दुई सय २३ जनाले सुरक्षित सुत्केरी सेवा लिएकोमा यस वर्ष एक सय ७४ जनाले मात्र सुरक्षित सुत्केरी सेवा लिएको केन्द्रका बरिष्ठ प्रवन्धक कुमार गिरीले जानकारी दिए । उनले विमा कार्यक्रम भएका सेवाग्राहीहरु विराटनगर र धरान गएर सेवा लिने तथा अप्रेसन गर्नु पर्ने अवस्थामा पनि बाहिर जानु पर्ने भएका कारण सेवाग्राहीहरु घट्न थालेको समेत वताए ।
परिवार स्वास्थ्य केन्द्रमा भरपर्दाे सेवा भएपनि अप्रेसन गरी सुत्केरी गराउने प्रविधि नभएका कारण बाहिर जानु पर्ने वाध्यता समेत सेवाग्राहीहरुमा रहेकाले अप्रेसन गरी सुत्केरी गराउने प्रविधि समेत भित्र्याउनु पर्ने सेवाग्राहीले माग गरेका छन । केन्द्रमा उल्लेखिय संख्यामा सेवाग्राहीहरु आउने भएपनि अप्रेसन सेवा र विमा कार्यक्रम समेत लागु नभएका कारण सुत्केरी सेवा लिने सेवाग्राहीको संख्या घटी रहेको छ । त्यसैलाई मध्यनजर गर्दै नेपाल परिवार संघ केन्द्रले समेत परिवार स्वास्थ्य केन्द्रबाट अप्रेसनबाट सुत्केरी गराउने सेवा सञ्चालन गर्ने विषयमा चासो लिएको केन्द्रका बरिष्ठ प्रवन्धक गिरीले जानकारी दिए ।
केन्द्रमा सेवा लिन आउनेहरुले नियमित चेकजाँच गरेकै स्थानमा सुत्केरी गराउन पाए राम्रो हुने भएपनि अप्रेसन गर्नु पर्दा बाहिर जानु पर्दा समस्या हुने गरेको गुनासो गर्ने गरेका छन । परिवार स्वास्थ्य केन्द इटहरीमा नियमित चेकजाँच र परामर्श सहजरुपमा पाएपनि अप्रेसनबाट बच्चा जन्माउनु पर्ने अवस्था आएपछि सेवाग्राहीहरु धरान र विराटनगर जानु पर्ने वाध्यता रहदै आएको छ । सेवाग्राहीको चापलाई मध्यनजर गर्दै भौतिक पुर्वाधार देखि लिएर अप्रेसन सेवा समेत थप गर्नु पर्ने आवश्यकता देखिन्छ । परिवार स्वास्थ्य केन्द्रले २४ घण्टे सुरक्षित सुत्केरी गराउने सेवा ,एम्वुलेन्स सेवा , प्रज्जनन स्वास्थ्य कार्यक्रम ,परिवार नियोजनका साधन , एचआइभि परिक्षण , सुरक्षित गर्भपतन सेवा समेत सञ्चालन गर्दै आएको छ ।




















