इटहरी । गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने तमु ल्होसार इटहरीमा पनि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि सामुहिक रुपमा मनाएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ४मा रहेको बुद्ध गुम्बामा तमु सेवा समितिको आयोजनामा शुभकामना आदान प्रदान गरि मनाइएको हो ।
विगत देखि नै इटहरीमा रहेको बुद्ध गुम्बामा तमु ल्होसारका अवसरमा गुरुगं समुदायका मानिसहरुले शुभकामना आदान प्रदान गरि मनाउने गरेका छन । गुरुगं समुदायले नयाँ वर्षका रुपमा बाघ वर्षलाई विदा गरि विरालो वर्षलाई स्वागत गरेका हुन । गुरुगं समुदायका मानिसहरुको मौलिक पर्व १२ ल्हो मनाउने गरे बमोजिम यस वर्ष बाघ ल्हो लागि विदा गरि विरालो ल्होलाई स्वागत गरिएको तमु सेवा समिति इटहरीका अध्यक्ष धनबहादुर घलेले जानकारी दिए ।
तमु ल्होसारको अवसरमा इटहरीमा रहेको वुद्ध गुम्बामा हरेक वर्ष पुष महिनाको १३ गते देखि १५ गते सम्म विशेष पाठ सहितको पुजा गरिने गरिन्छ । ल्होसार अन्तर्गत वर्ग परिवर्तन हुने अघिल्लो दिन वितेको वर्गको विदाई गर्न पुजापाठ गरिने र वर्ग परिवर्तन हुने दिन नयाँ वर्गलाई स्वागत गर्न पुजापाठ गर्ने गरिएको वताइन्छ । यस पर्वमा गुरुगं समुदायका मानिसहरुले गुम्बामा आएर गुरुहरुसंग आर्शिवाद लिने र घरमा गएर पुजापाठ गरी आफु भन्दा सानालाई आर्शिवाद दिने र ठुलाबाट आर्शिवाद लिने टिका खादा लगाउने चलन रहेका प्रमुख लामा पेमातेन्जीगं लामा वताउछन ।
गुरुगं समुदायले मनाउने अन्य पर्वहरु तिथीमिति अनुसार सुर्य पात्र र चन्द्रपात्रको आधारमा मनाइने भएपनि तमु ल्होसार भने आफनै मौलिक पर्व रहेको समेत वताइन्छ । तमु ल्होसारका अवसर पारेर नेपाल सरकारले विदा समेत दिएको छ ।




















