धरान । धरान उपमहानगरपालिकाले नगर गौरवका रुपमा कालोपत्रे सडकलाई लिने गरेको छ । त्यसैलाई आधार वनाएर उपमहानगरपालिकाका सबै वडाका सडकहरुलाई धुलाम्मे र हिलाम्मेबाट कालोपत्रेमा विकास गर्ने कार्यहरु हुदै आएका छन । उपमहानगरपालिकाले सवै वाटाहरुलाई कालोपत्रे वनाउने योजना अघि सारेको छ । त्यसै अनुसार धेरै तिर सडक कालोपत्रे भई सकेका छन भने वडा नम्बर १६ को नौलो बस्तीबासीमा पनि लामो समयपछि कालोपत्रे सडक निर्माण भएको छ । विगतमा धुलो र हिलो बाटोका कारण सास्ती भोगेका स्थानीयहरु कालोपत्रे बनेपछि सहज भएको वताउछन । स्थानीयहरुको सक्रियतापछि नौलो बस्तीबासीले धुलो खाएर बस्नु पर्ने बाध्यता हराएको स्थानीय भिम गिरी वताउछन ।
उपमहानगरले नगरको गौरव अन्तर्गत नौलो बस्ती सडक निर्माण कायलाई प्राथमिकतामा राखेको थियो । यो कालो पत्रे सडक ५ सय ३५ मिटरको लम्बाई रहेको छ । कालोपत्रे बन्नुभन्दा अगाडि ड्रेन, एजी र सभसेसको अघिल्लो आर्थिक बर्षमा काम सम्पन्न भएको थियो । ५४ लाखमा सडक सम्पन्न भएको इन्जिनियर सौहाद्र्ध श्रेष्ठले जानकारी दिए ।
कालोपत्रे सडक निर्माण कार्यका लागि धरान उपमहानगरपालिकाको बजेट विनियोज गरेको थियो । स्थानीयबासी र वडा कार्यालयको प्रत्यक्ष निगरानीमा यो सडक निर्माण भएको धरान उपमहानगरपालिका वडा नम्बर १६ का वडा सदस्य भिम लिम्बुले वताए । उनले स्थानीय बासिन्दासँग मिलेर कालोपत्रे सडक निर्माण गरिएको कारण गुणस्तरीय रहेको समेत वडा सदस्य लिम्बुले जानकारी दिए ।
धरान उपमहानगरपालिकाले नगरको गौरव अन्तर्गत धरानका सबै वडाका सबै बाटोमा पिच गर्ने योजना अघि सारेको छ । कालोपत्रे गर्न बाँकी रहेका सडकहरु पनि कालोपत्रे गरिने वताइएको छ ।




















