इटहरी । इटहरीका निवर्तमान मेयर तथा आसन्न मंसिर ४ गते हुने प्रदेश सभा सदस्यका उम्मेदवार द्वारिकलाल चौधरीले आफ्नो नाममा चलेको फेक ट्वीटर एकाउन्ट बन्द गराएका छन् । 

आफ्नो नाममा नक्कली ट्विटर एकाउन्ट सञ्चालन भएको भन्दै उनले साइबर ब्यूरोमा उजुरी दिएका थिए । ब्यूरोले उक्त नक्कली ट्वीटर एकाउण्ट बन्द गरेको चौधरीले जानकारी दिएका छन् । 

चुनाव हारिने डरले विपक्षीले फेक ट्विटर एकाउन्ट बनाएर भ्रामक प्रचारबाजी गर्दै आएको उनले बताएका छन् । आफूविरुद्ध स्टाटस र पोस्टहरु निरन्तर पोस्ट भइरहेको लभ इटहरी नामक फेसबुक प्रोफाइल पनि बन्द गराउने र कारवाही गराउने चेतावनी दिएका छन् । उक्त प्रोफाइलबाट चौधरी विगतमा मेयर हुँदा विवादित बनेका उनका अभिव्यक्ति र विभिन्न गतिविधिहरु पोस्ट भइरहेका छन् ।

चौधरी सुनसरी क्षेत्र नं. २ (क) बाट उम्मेदवार बनेका छन् । उनको प्रतिष्पर्धा नेकपा एमालेका जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीसँग हुने भएको छ । चौधरी पनि पुर्व एमाले जिल्ला अध्यक्ष हुन् ।चौधरी केही समयअघि मात्रै माओवादीमा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । 

चौधरीले एमाले पार्टीभित्रै रहँदा पनि भण्डारीलगायत एमाले नेताहरुको चर्को आलोचना गर्ने गरेका थिए । अहिले चुनावको मुखमा भने उनका विगतका विवादित गतिविधिलाई फेक एकाउन्ट बनाएर सामाजिक सञ्जालमार्फत् सार्वजनिक हुन थालेपछि  उजुरी दिएका थिए ।