मोरङ । पथरी शनिश्चरे नगरपालिकामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा सम्वन्धी स्थानीय स्तरका समिति तथा मतदाता शिक्षा स्वयंसेवकहरुको अभिमुखीकरण कार्यक्रम भएको छ । आज विहीबार नगरपालिकामा भएको कार्यक्रममा नगरका सूचना अधिकारी उपसचिव शालिग्राम काफ्ले र शिक्षा अधिकृत नवीन खुलालले कार्यशाला प्रस्तुत गरी सहजीकरण गरेका हुन । अभिमुखीकरण कार्यक्रम विशेषतः आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि स्वयंसेवकहरुलाई मतपत्रको ज्ञान र मतदान कसरी गर्ने भन्ने शिक्षा सर्वसाधारण कसरी दिने भन्ने विषयमा केन्द्रित रहेको थियो । मुख्यतः मतदाता शिक्षा वडा सचिव र स्वयंसेवकहरुले जिम्मेवारी प्राप्त गरेका छन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले निर्वाचनका समयमा आफूले गर्न हुने र नहुने कुराहरुको शिरोपर्य गरेर जिम्मेवारी सफतापूर्वक सम्पन्न गर्न सबैलाई अनुरोध गरेका छन । यस्तै नगरका प्रमुख मोहनप्रसाद तुम्वापाले सबैले आफ्नो कार्यलाई कुशलतापूर्वक सम्पन्न गर्न अनुरोध गरेका छन ।




















