सुनसरी । नेवार सांस्कृतिक उत्थान मञ्च सुनसरीले यस वर्ष पनि धरानमा माता पञ्चकुमारी नृत्यलाई निरन्तता दिएको छ । विगतका वर्षहरुमा धरानको मुटु मानिएको भानुचौकमा खुल्ला रुपमा देखाउदै आएको पञ्चकुमारी नृत्य दुई बर्ष कोरोना कहरका कारण हुन सकेको थिएन भने यस वर्ष सिद्धी नेवा ः परिषद्को भवनमा आयोजना गरिएको हो । यो नृत्यमा महामन्जुश्री, कौमारी, काली, भैरव र बज्रयोगिनी माताको रूपमा यो नृत्य देखाइने गरिएको छ ।
धिमे बजा बजाएर कार्यक्रमको शुरुवात गरिएको थियो । सो अवसरमा बोल्दै धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले नेवारी समुदायको धार्मिक, साँस्कृतिक परम्परालाई निरन्तता दिदै आउने कार्यमा सहयोग गर्ने वताए । त्यसै गरी नेवार साँस्कृतिक उत्थान मञ्च सुनसरीका सल्लाहकार बसन्त श्रेष्ठले विश्वव्यापी कोरोना कहरका कारण खुल्ला रुपमा पञ्चकुमारी नृत्य आयोजना गर्न नसकिएको जानकारी गराए । कार्यक्रममा नेवार जातिको राष्ट्रिय गीत ‘खिउ चाः’ मा कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरिएको थियो । पञ्चकुमारी नृत्य विशेष गरेर हावा, पानी, आकाश, सूर्य र पृथ्वी बिना मानव जीवनको परिकल्पना गर्न नसकिने हुँदा पञ्च तत्वको शक्तिको लागि नेवार समुदायले माता पञ्चकुमारीलाई मान्ने प्रचलनमा आधारित रहेको छ । कार्यक्रममा नेवारी संस्कृतिमा आधारित ३ सय वर्ष पुराना चर्या नृत्य र भैरव काली नृत्य समेत देखाइएको थियो ।




















