काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन ः महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् ।


गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।


महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका  ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन छन् ।

अवकाश लिएका लि खछ्याङ प्रधानमन्त्री समेत हुन् भने वाङ याङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् ।