लेटाङ । नेकपा एमाले प्रदेश नम्बर १ कमिटीका सचिवालय सदस्य तथा मोरङ क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र ख का उम्मेदवार खड्गबहादुर बस्नेत २०१२ सालमा जन्मनुभएको हो । धनकुटाको राजारानीमा बुवा कृष्णबहादुर बस्नेत र आमा स्वर्गीय पदममाया बस्नेतका जेष्ठ सन्तानको रुपमा जन्मनुभएका बस्नेतको बाल्यकाल धनकुटामा नै बित्यो । प्रारम्भिक शिक्षा  बुवा–आमा र घरबाट नै प्रारम्भ गर्नुभएका बस्नेतले कक्षा–५ सम्मको प्राथमिक शिक्षा पुण्य प्रा।वि। राजारानी धनकुटाबाट लिनुभयो । श्री भानु जनप्रिय मावि डाँडाबजार धनकुटाबाट कक्षा ८ सम्मको अध्ययन पूरा गर्नुभएका उहाँले कक्षा १० सम्मको अध्ययन भने श्री शिक्षा निकेतन मावि धरानबाट पूरा गर्नुभयो । महेन्द्र क्याम्पस धरानबाट आइ।ए। पूरा गर्नुभएका बस्नेतले वीएड भने धनकुटा बहुमखी क्याम्पसबाट गर्नुभयो । एमएड अध्ययनका लागि भने उहाँ सुकुना बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । निडर र हक्कि स्वभावका बस्नेत बाल्य अवस्थादेखि नै क्रान्तिकारी हुनुहुन्थ्यो । परिवारभित्रकै विभेदको पनि कडा प्रतिवाद गर्ने बस्नेतलाई घरको कुलपूजामा महिलालाई प्रवेश गर्न नदिने र महिलाले प्रसाद समेत खान नहुने नियमले विद्रोह गर्न उत्प्रेरित गरेको थियो ।

कुल देउता सबैका लागि उत्तिकै हुन्छन् भन्दै उहाँले आमालाई पनि पूजामा सरिक हुनका लागि विद्रोह गर्नुपरेको सम्झनुहुन्छ । २०४० सालमा बबिता निरौलासँग वैवाहिक बन्धनमा बाँधिनुभएका बस्नेत २ छोरा र एक छोरीको पिता हुनुहुन्छ । गाउँघरमा ठूले भनेर परिचित बस्नेत छरछिमेकीका प्रिय पात्र हुनुहुन्थ्यो । जो सुकैलाई जस्तोसुकै सहयोग गर्न पछि नपर्ने उहाँ थिचोमिचो भने सहन हुँदैन भन्ने स्वभावको हुनुहुन्थ्यो । भौगोलिक अवस्था र शैक्षिक वातावरणका कारण उहाँले पढ्नका लागि पनि निकै दुःख गर्नुप¥यो । डाँडाबजारको स्कुलसम्म पढ्न डेढ घण्टाको उकालो ओरालो गर्नुपर्ने उहाँका लागि मावि पढ्न भने धरान नै झर्नुपर्ने बाध्यता थियो । जब मावि अध्ययनका लागि धरान झर्नुभयो पढाईका साथसाथै उहाँको रस क्रमशः राजनीतितर्फ पनि भिज्दै गयो । चित्र निरौलाहरुको संगत, जेबी टुहुरे,  मन्जुल नेपालहरुका क्रान्तिकारी गितले उत्प्रेरित हुनुभएका बस्नेत २०३० सालमा एसएलसी दिए लगत्तै साँस्कृतिक अभियानमा होमिनु भयो । 

अनेरास्ववियु, युनियन कमिटीमा आवद्ध भइ धनकुटा चौबिसे क्षेत्र र उत्तरी मोरङमा साँस्कृति अभियान सञ्चालन गर्दै हिड्नुभएका बस्नेत २०३२ सालदेखि मोरङको केराबारी गाउँ पार्टी सकृय दल संस्थापक संगठक हुँदै केहि समयपछि पार्टी प्रमुख नै हुनुभयो । २०३२ सालमा नै सामन्तिका विरुद्ध जनवादी सांस्कृतिक आन्दोलनमा सहभागि हुँदा धनकुटाको राजारानी र ओख्रेबाट पक्राउ पर्नुभयो । राजनीति सँगसँगै २०३५ सालमा आईए उत्तिर्ण गरेसँगै उहाँले सावित्री माविमा शिक्षण पेशा समेत आरम्भ गर्नुभयो । १० वर्षे लामो शिक्षण पेशामा रहँदा उहाँले शिक्षक आन्दोलनको नेतृत्व र विद्यार्थी आन्दोलनको कमाण्ड समेत सम्हाल्दै आउनुभयो । २०३८ सालको विद्यार्थी आन्दोलनको कमाण्ड गर्दा अग्र मोर्चामा रहनुभएका उहाँ प्रहरीको कुटाईबाट घाइते हुनुभयो । 

पार्टीमा २०४० सालदेखि उत्तरी क्षेत्र इलाका कमिटी सदस्यको जिम्मेवारी सम्हाल्नुभएका बस्नेत २०४२ सालको शिक्षक आन्दोलनमा अग्रमोर्चामा रहेर नेतृत्व गर्नुभयो । २०४३ सालमा मालेको भूमिगत जिल्ला अधिवेशनको प्रतिनिधि हुनुहुन्थ्यो भने अधिवेशन व्यवस्थापन समेतको जिम्मेवारी पूरा गर्नुभयो । २०४६ सालको आन्दोलनमा पनि अग्रमोर्चामा रहनुभएका उहाँ पार्टी सचिव हुँदै २०४८ सालदेखि पार्टी जिल्ला कमिटी मोरङको सदस्य हँुदै सचिवालय सदस्यको जिम्मेवारीमा रहनुभयो । ३ कार्यकाल मोरङको सहसचिवको जिम्मेवारी पूरा गर्नुभएका बस्नेतले १ वर्ष स्वास्थ्य क्षेत्रमा समेत सेवा गर्नुभयो । २०४९ देखि–२०५४ सम्म केराबारी गाविसको उपाध्यक्ष बन्नुभएका बस्नेत २०५४ देखि २०५९ सम्म मोरङको जिविस सभापति बन्नुभयो । उहाँ २०५७–२०५९ सम्म  पूर्वाञ्चल विश्वविद्यालयको सिनेट सदस्य समेत बन्नुभयो । २०६२÷०६३ को जनआन्दोलनका क्रममा पटक पटक पक्राउ पर्नुभएका बस्नेतले २० दिन कारागार र १२ दिन प्रहरी हिरासतमा बिताउनुप¥यो । 

पार्टीमा स्थानीय निकाय केन्द्रीय विभाग सदस्य हुँदै हाल १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य तथा मोरङ १ नम्बर संघीय निर्वाचन क्षेत्रको इन्चार्जको भूमिकामा रहनुभएको छ । मोरङ पत्रकार महासंघ लगायतका १ दर्ज संघ–संस्थाबाट अभिनन्दित हुनुभएका बस्नेतले नेपाल सरकारबाट २०५८ सालमा पदक प्राप्त गर्नुभएको थियो । तीन दशक भन्दा बढीदेखि मोरङको केराबारीको स्थायी बसोबास गर्दै आउनुभएका बस्नेत यस पटकको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ को ख बाट उम्मेदवार बन्नुभएको हो । 

२०५४ सालदेखि २०५९ सालसम्म नेकपा एमालेबाट जिल्ला विकास समिति मोरङको सभापतिमा निर्वाचित हुनु भएका बस्नेतलाई मोरङको उत्तरी क्षेत्र र भारतिय सिमा क्षेत्रमा विकासको सुरुवाती जग बनाउने व्यक्तित्वको रुपमा चिनिन्छ । मोरङ जिल्लामा विराटनगर र राजमार्ग क्षेत्रमा केहि विकासका काम भएपनि उत्तरी मोरङ र दक्षिणि भारतीय सिमा क्षेत्र विकासमा धेरै पछि परेको अवस्थामा उहाँ जिल्ला सभापति हुँदै ति क्षेत्रलाई प्राथमिकतामा राख्दै विकासको काम सुरुवात गर्नु भएको थियो । उहाँले खासगरि भारतीय सिमा क्षेत्रमा सडक निर्माण र उत्तरी मोरङमा सडक र कल्वट निर्माण, सिंचाई, विद्यालय भवन निर्माण, झोलुंगे पुल निर्माण, एलजीपी कार्यक्रम मार्फत संगठन, बचत र शीपको कार्यक्रम सञ्चालन, व्यवसायीक तरकारी खेतिको सूरुवात गराउने लगायतका काम गर्दै विकासको जग बसाउनु भएको थियो । उहाँले जिविस सभापति हुँदा जिविस मार्फत र त्यसपश्चात समेत आरआरएन, प्लान नेपाल, युएनडिपि, हडन जस्ता संस्थामार्फत ठूलो लगानी उत्तरी मोरङमा भित्र्याउनु भएको थियो ।