उदयपुर : उदयपुरमा एकै परिवारका तीन जनाको बिभत्स हत्या आरोपमा पक्राउ गरेका एक व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उदयपुरको बेलका नगरपालिका वडा नं. ७ गोवाटार मैनामैनीमा गत भाद्र १७ गते शुक्रबार एकै परिवारका तीन जनाको बिभत्स हत्या आरोपमा पक्राउ परेका ४३ बर्षिय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।

उदयपुरको वाबिङ खोलामा एकै परिवारका ३७ बर्षिय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ बर्षिया सरिता बस्नेत र १२ बर्षिय छोरा सुजन बस्नेतको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा बस्नेतलाई प्रहरीले सोहि दिन नै घटनामा प्रयोग गरिएको हतियार सहित पक्राउ गरेको थियो । आरोपितले राजकुमार सहित उनिकी श्रीमती र छोरालाइ एकान्त स्थान बबिङ खोलाको धान खेत नजिक खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना बिहान साढे ११ बजे भएको भए पनि घटना एकान्त ठाउँमा भएका कारण प्रहरीले दिउसो ३ बजे मात्रा घटना बारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिनुभयो ।