विराटनगर । प्रदेश १ को नामकरणको विषय पेचिलो बन्दै गइरहेको छ । प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नाम समेत टुङ्ग्याउन सकेको छैन । 
प्रदेश १ को नाम पहिचानका आधारमा राख्न दबाबका कार्यक्रमहरू आयोजना भइरहेका छन् । यही क्रममा किरात राई यायोक्खाले प्रदेशको नाम किरात प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि घेराउ गरेका छन्। घेराउ कार्यक्रममा १४ वटै जिल्लाबाट मानिस भेला भएको आयोजकले जानकारी दिएका छन्। उनीहरूले पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका छन् । घेराउपछि मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापन पत्र प्रदान गर्ने र प्रदेशसभा घेराउ गर्ने कार्यक्रम रहेको छ ।





















