काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सवारी साधनको जाँचपासमा लापरबाही हुने गरेका कारण सवारी साधनको दुर्घटना बढेको बताउनुभयो ।

उहाँले आर्थिक लेनदेनका आधारमा सवारी साधनको जाँचपास गरिने गरेको र बिग्रिएका सवारी साधन गुडाउँदा दुर्घटना हुने गरेको बताउनुभयो ।

जाँचपास केवल कागजपत्र देखाउनका लागि मात्रै गरिने गरिएकाले यसमा कडाइ गर्नुपर्ने उहाँको भनाइ छ ।

 सार्वजनिक सवारी साधनहरूले यात्रुलाई खुद्रा पैसा नभएको भनि मन लाग्दी भाडा असुल्ने गरेकाले त्यसलाई पनि नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले दैनिक उपभोग्य वस्तुमा समेत अत्याधिक मूल्यवृद्धि भइरहेकाले सरकारले सबै  पसलहरूमा समेत अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ ।