धनकुटा । दुर्गा लक्ष्मी परोपकार संस्था धनकुटा शाखाले स्थानीय स्तरमा उपलब्ध श्रोत र साधानको उपयोग गर्दै गाईजात्रा पर्वमा अत्यावश्यक भेषभूषा सम्बन्धी दुई दिने सिपमुलक प्रशिक्षण कार्यक्रम धनकुटामा सम्पन्न गरेको छ ।
आफ्नै लगानीमा जिल्लाका २५ जना नेवारी समुदायका युवाहरुलाई सिप सिकेर आत्मनिर्भर बनाउने उद्धेश्यका साथ आसन्न गाईजात्रा पर्वमा लगाईने भेषभुषा गाईको मुकुट (साःख्वापा) निर्माण सम्बन्धी तालिम गराईएको हो ।
युवा पुस्तामा (साःख्वापा) गाईजात्रामा लगाउने गाईको मुकुट बनाउने चलन हराउँदै गएकाले स्थापित गराउने उद्धेश्यले दुर्गा लक्ष्मी परोपकार संस्थाले निःशुल्क तालिम सञ्चालन गरेको हो ।
परोपकार संस्थाले नेवारी समुदायको संस्कृतिलाई जोगाई राख्ने र पुस्ता पुस्तामा हस्तान्तरण गर्ने उद्धेश्यका साथ मुकुट बनाउने सिप सिकाएको जनाएको छ । नेवारी भाषमा गाईको मुकुटलाई साःख्वापा भन्ने गरिन्छ । 
नेवार समुदायका परिवारमा मरेको ब्याक्तिको नाममा मृत आत्माको शान्तिका लागि मेरको एक बर्षभित्रमा हरेक घरबाट गाईजात्रा निकाल्दा एक एक जोर साःख्वापा लगायर बजार परिक्रमा गर्ने परम्परा चलिआएको छ । यो परम्परा राजा प्रतापमल्लको पालादेखि शुरु भएको भन्ने भनाई छ ।
परापुर्वकालमा वाँसको चोयाको मोहोलामा श्रृंगारको सामाग्रीले सजाएर साःख्वापा वनाउने गरिन्थियो भने यतिबेला कागज या काटुनको पनि बनाउने चलन छ ।
शुक्रबार एक कार्यक्रमका साथ प्रमुख अतिथि धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ्गले उद्घाटन गर्नुभएको उक्त तालिम परोपकार संस्था धनकुटा शाखाका शाखा अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षता एवं नेवाः दे दवुका १ नम्व्र प्रदेश सल्लाहकार एवं नेवा पुच धनकुटाका अध्यक्ष नविन किशोर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।
उक्त तालिममा वरिष्ठ मुर्तिकार एवं चित्रकार श्रीकृष्ण जोशि र समाजसेवी कल्पता श्रेष्ठले मुकुट बनाउने तौर तरिका, जात्रा निकाल्दा आवश्यक पहिरन भेषभुषको परिचयका साथै पहिरन लगाउने र मेकअप गर्ने समेतको सिप सिकाउनु भएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ धनकुटाका सचिव श्रीकृष्ण प्रधान, केन्द्रिय सदस्य महेश प्रसाद श्रेष्ठ, नागरिक समाजका अध्यक्ष सुन्दरबाबु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।




















