संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिकाले नगरमा फलफूल खेतीलाई विस्तार गर्ने उद्देश्यले फलफूलका विरुवा वितरण गरेको छ । धर्मदेवी नगरपालिका क्षेत्रमा फलफूल खेतिको राम्रो संभावना भएकाले नगरपालिकाले फलफूलका विरुवा वितरण गरि कृषकहरुलाई व्यवसायीकरुपमा फलफूल खेति गर्न प्रोत्साहन गरेको हो । नगरपालिकाले नगरमा रहेका कृषि फर्महरु र कृषि सहकारीहरु मार्फत कृषकहरुलाई करिव ८ हजार फलफूलका विरुवा वितरण गरेको हो । नगरपालिकाको कृषि शाखा प्रमुख दीलिप घिमिरेले नगरपालिकामा व्यवसायीकरुपमा फलफूल खेति प्रवर्धन गर्ने उद्देश्यले आँप, लिचि, कागती, सुन्तला, एभाकार्डो र सुन्तला लगायतका फलफूलका विरुवा वितरण गरेको जानकारी दिनुभयो । 
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालले आगामि आर्थिक वर्षमा फलफूल खेतिलाई प्रोत्सहान गर्न नगरपालिकाले थप कार्यक्रमहरु ल्याएर तालिम समेत सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । यस्तै नगर प्रमुख उदयचन्द्र पौडेलले धर्मदेवी नगरपालिका फलफूल खेतिका लागि अत्यन्तै उपयुक्त ठाउँ भएकाले नगरपालिकाले फलफूल खेतिको विकासका लागि योजनाबद्ध रुपमा कार्यक्रमहरु ल्याएर फलफूलको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । उहाँले उन्नत जातका विरुवा उपलब्ध नहुँदा परम्परागत रुपमा फलफूल खेति हुने गरेकोमा अब व्यवसायीक फलफूल खेतिलाई प्रवर्धन गरि कृषकहरुको आर्थिक अवस्था सुधार गर्न नगरपालिका लागिपरेको उल्लेख गर्नुभयो ।




















