इटहरी । सुनसरीको इटहरीमा रहेको सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो २१औं वार्षिकोत्सवको अवसरमा पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
विगत केही वर्ष देखि सहकारीको बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको सिटी बचत तथा ऋण सहकारीले यस वर्ष पनि बार्षिकोत्सवमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको हो ।
सहकारीका अध्यक्ष पुष्कर थापाको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ सञ्चालक समितिकी सदस्य अमृता सुब्बाको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ४० जना महिला पुरुषले रक्तदान गरे ।
विगतका वर्षहरुमा पनि बार्षिकोत्सवमा रक्तदान गर्ने गरेको र अन्य वर्षको तुलनामा यस वर्ष कम मात्रमा रगत संकलन भएको सहकारीका अध्यक्ष थापाले जानकारी दिए ।
उनले सहकारीका सदस्य तथा अन्य रक्तदानहरु पनि निर्वाचन केन्द्रीत भएका कारण विगतको तुलनामा यस वर्ष कम रगत संकलन भएको अनुमान गरे ।
नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रमलाई मानवीय सहयोगको कार्यक्रम भएको वताउदै प्रमुख अतिथी सुब्बाले सहकारीहरुले आर्थिक गतिविधिहरुका साथै सामाजिक गतिविधिमा समेत महत्वपुर्ण योगदान गर्दै आएको वताइन । रक्तदान कार्यक्रम विष्णु शर्माकोे संयोजकत्वमा भएको थियो ।




















