उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नम्वर १ का सहमहामन्त्री खड्ग फागोले पार्टी भित्र अभिव्यक्ती स्वतन्त्रता भएतापनि पार्टीको अनुशासनलाई कुल्चेर कसैलाई पनि सार्वजनिक मञ्चमा भाषण गर्ने छुट नभएको बताएका छन् ।

शनिवार मोरङको उर्लाबारी-७ स्थित टोल समिती गठन कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा सहमहामन्त्री फागोले भने-“सार्वजनिक मञ्चको प्रयोगमा नेपाली काग्रेसका कुनै पनि नेता तथा कार्यकर्तालाई आफ्नो स्वतन्त्र अभिव्यक्ति राख्न पाउने स्वतन्त्रता छ, तर पार्टीको विधि, बिधान र सिद्धान्तका आधारमा रहेर मात्रै राख्नु पर्‍यो अन्यथा पार्टीले अनुशासनको कार्वाही गर्न सक्छ सचेत रहनु होला”।

नेपाली कांग्रेस वडा नम्वर ७ का सभापति मदनबाबु प्रसाईको सभपतित्वमा भएको कार्यक्रममा तेजबहादुर निरौलाको सभापतित्वमा ३५ सदस्यीय बजार लाईनमा टोल समिती गठन गरिएको हो । 

यस अघि सोही वडामा पुणर्प्रसाद पौडेलको सभापतित्वमा देविस्थान टोल समिती र डिकबहादुर खड्काको सभापतित्वमा पारीजात बैसाबारी टोल समिती गठन गरिएको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका महाधिवेसन प्रतिनिधि सिता कार्की, विजयी कार्की, नेपाली काग्रेस जिल्ला सदस्य बीरबल थापा, प्रदेश १ (क) का उपसभापति लोलिम पोमु, नगर सभापति सुरेन्द्र लिम्वुले शुभकामना मनत्व्य राखेका थिए ।