उर्लाबारी । स्वच्छ वातावरणको व्यारो मिटरको रूपमा हेरिने गरेको लाटोकोसेरोलाई फेला पारी मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले वन डिभिजन कार्यालयलाई बुझाएका छन् ।

लाटोकोसेरोले मुसा, सर्प, चमेरा, भ्यागुता, किराफट्यांग्रा आदि खाएर पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्ने काम गर्ने र कृषक लगायत समग्र मानव समुदाय कै लागि निकै उपयोगी पंक्षी भएकाले पक्षीको संरक्षण र पर्यावरणको संरक्षणका लागि लाटकोसेरो वन कार्यालयलाई बुभाएको मेयर फागोले बताए ।

शनिवार मेयर फागोले वन डिभिभिजन कार्यालय उलाबारी मंगलबारेको टोलीलाई उल्लु (लाटोकोसेरो) बुझाएका हुन् ।

कृषकको अन्नबाली खाइदिने तथा नोक्सान गरिदिने मुसा एवं कीराफट्याङ्ग्राहरूलाई लाटोकोसेरोले खाने हुँदा यसलाई कृषकको असल मित्रको रूपमा लिने गरिन्छ । जहाँ लाटोकोसेरोको उपस्थिति हुन्छ, त्यहाँ खेतीपाती राम्रो हुने भएकोले कृषि क्षेत्रमा यो पंक्षी निकै उपयोगी मानिन्छ । 

लाटोकोसेरो एक किसिमको मांसाहारी पंक्षी हो । लाटोकोसेराको शरीर अत्यन्तै हलुका तथा नरम भुवाहरूले ढाकेको हुन्छ । 

लाटोकोसेराका आँखा खप्परमा टाँसिएका र स्थिर हुन्छन । यसले आँखा अन्य पंक्षीले जस्तो दायाँ बायाँ घुमाउन नसक्ने भएकोले पुरै टाउको घुमाउने गर्दछ 

लाटोकोसेरो प्रायः राती तथा बिहानपख सक्रिय हुने र शिकार गर्ने पंक्षी हो । त्यसो त यिनीहरूले दिउँसो पनि आँखा देख्न सक्छन ।

तर दिउँसो यिनीहरूको देख्ने र सुन्ने क्षमता निकै कमजोर हुन्छ । यिनीहरूको रातको समयमा कान सुन्ने तथा आँखा देख्ने क्षमता अत्यन्तै सबल हुन्छ । यसले नदेखिकन पनि सिकार गर्न सक्छ । कुनै घाँसेमैदानमा मुसा छ भने त्यो मुसा आफूदेखि कति दूरीमा छ भनेर यसले सुनेरै थाहा पाउँछ । 

नेपालमा भूगोल अनुसार लाटोकोसेरोलाई हुचिल, हाप्सिलो, कोचलगाँडे, कोइरालो, उल्लु, डुन्डुल आदि नामले चिनिने गरेको छ ।

लाटोकोसेरोले कतिपय मृतजनावारलाई सफाचट पारी खाइदिने भएकोले यसले पर्यावरण सफा राख्न सहयोग गरेको हुन्छ । 

जहाँ लाटोकोसेरो पाइन्छ, त्यहाँ वातावरण स्वच्छ हुन्छ । त्यसैले लाटोकोसेरोलाई स्वच्छ वातावरणको व्यारो मिटरको रूपमा पनि लिने गरिन्छ ।