उर्लाबारी । नेपाली काँग्रेसका उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बूले जथाभावी उम्मेद्वारी घोषणा नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै सामाजिक सञ्जालमा उम्मेद्वारी घोषणा गर्ने होड चलेको बेला उनले पार्टीले आधिकारिक उम्मेद्वार घोषणा नगरी मनोमानी ढंगले उम्मेद्वारी घोषणा नगर्न आग्रह गरेका हुन् ।
आइतबार उर्लाबारी-५ मा नेपाली काँग्रेसको वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नगर सभापति लिम्बूले पार्टीले सबल, सक्षम व्यक्तिलाई उम्मेद्वार बनाउने बताउँदै अहिलेदेखि नै व्यक्तिगत रुपमा उम्मेद्वारी घोषणा गर्नु उपयुक्त नभएको बताए ।
पार्टीको नीति, विधि, विधान अनुसार उम्मेद्वारको टुंगो लाग्ने भएकोले उम्मेद्वारी घोषणाभन्दा पनि निर्वाचन केन्द्रीत गतिविधिमा लाग्न उनले पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।
वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी काँग्रेसमा प्रवेश गरेका ४५ जना नवप्रवेशीहरुलाई सभापति लिम्वुले स्वागत समेत गरेका छन् ।




















