इटहरी  : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कुण्ठा व्यक्त गर्न थालेका छन् ।  उनले दुईचार हजार मान्छे उतारेर राजसंस्था नआउने बताए । राप्रपाको अध्यक्षमा पराजित भएसँगै देश दौडाहा निस्किएका उनले पूर्व राजा र अध्यक्ष लिङ्देन प्रति रोष प्रकट गरे।

‘जुन पार्टीमा मैले ३१ वर्ष बिताएँ । विभिन्न तहमा रहेर पार्टी निर्माणमा रगत पसिना बगाएँ । त्यो पार्टीबाट अलग हुनुपर्दा स्वभाविक रुपले हिनताबोध भएको छ,’ उनले भने, ‘यो कुनै योजना र रहरले गरिएको काम होइन, निर्वाचनको पराजयलाई सहज र स्वभाविक रुपमा लिएँ । हार र जीतको बाबजुद महाधिवेशनको आन्तरिक पतिष्पर्धामा निर्मल निवासको हस्तक्षेप रह्यो, त्यसले शैद्वान्तिक प्रश्न खडा ग¥यो ।’

अहिले राप्रपामा हस्तक्षेप गरेको निर्मल निवासले भोलि काँग्रेस एमालेमा पनि हस्तक्षेप गर्न सक्ने भन्दै थापाले बेलैमा सचेत हुन जरुरी रहेको बताए । हिन्दुराज्य र राजसंस्थाको मुद्दा बोकेर हिँडेका थापा अब हिन्दुराज्यलाई मात्र नयाँ पार्टीको मुख्य सैद्धान्तिक पक्ष बनाउने तयारीमा छन् ।अब आफू नयाँ पार्टीको कार्यदिशा बनाउन लागेकाले फागुन पहिलो साताभित्र पार्टी दर्ता गरेर स्थानीय निर्वाचनमा भाग लिने उनले बताए । 

अध्यक्ष लिङ्देनले भेटमा सम्मान व्यक्त गरे पनि राजसंस्था छाड्ने माग पुरा नगर्ने भएपछि निरीह, लाचार, अपमानित र अपहेलित भएर बस्न नसकेकाले पार्टी छाड्न बाध्य भएको बताए ।