इटहरी । प्रदेश १ मन्त्रीपरिषद् बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम(सञ्चालन नियमावली) पारित गरेको छ । सोमबार बसेको बैठकले सांसदलाई योजना छनोट गर्ने अधिकारसहित प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन नियमावली पारित गरेको हो ।  

शेरधन राई नेतृत्वको सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम प्रदेश मातहतका कार्यलयले सञ्चालन गर्नेगरी छुट्टा छुट्टै कार्यविधि बनाएको थियो ।

  अघिल्लो सरकारको कार्यविधि खारेज गर्दै प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम(सञ्चालन नियमावली) पारित गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताए ।

 प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदले आफ्नो क्षेत्रका लागि एक करोड रूपैयाँ र समानुपातिक प्रदेश सांसदले ५० लाख रुपैयाँ बजेट खर्च गर्न पाउँछन् ।