इटहरी । सुनसरीको इटहरीमा आयोजित नि शुल्क आँखा शिविरमा परिक्षण गराएका मध्ये ३७ जनाको आँखाको अप्रेसन गर्नु पर्ने भएको छ ।
द साल्भेसन मिसन , लायन्स क्लव अफ इटहरी माल्वीन जोन र न्यु अधिकारी मेडिकलले संयुक्त रुपमा आयोजना गरेको निशुल्क एक दिने स्वास्थ्य शिविरमा परिक्षण गराएका ३सय ५३ जना मध्ये ३७ जनाको मोतिया विन्दुको अप्रेसन गर्नु समस्या देखा परेको हो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १ माझी टोलमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा रामलाल गोल्छा आँखा अस्पताल र न्यु अधिकारी मेडिकलहरुको प्राविधिक सहयोग रहेका स्वास्थ्य शिविरमा आँखा, सुगर प्रेसर परिक्षण गरिएको थियो । स्वास्थ्य संस्थाहरुको पहुँच सहज नभएका इटहरीका विपन्न परिवारका मानिसहरुलाई स्वास्थ्य उपचार सेवा पुर्याउने उद्धेश्यले निशुल्क आँखा शिविर राखिएको आयोजक द साल्भेसनका अध्यक्ष मिनकुमार मगरले वताए ।
कोरोना कहरका कारण लामो समय देखि विपन्न वर्गका मानिसहरुलाई स्वास्थ्य सेवाका लागि सञ्चालन हुने गरेका निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन हुन नसकिरहेको तर्फ मध्यनजर गर्दै निशुल्क आँखा शिविर सञ्चालन गरिएको अर्को आयोजक संस्था लायन्स क्लव अफ इटहरी माल्वीन जोनका अध्यक्ष रितेश श्रेष्ठले वताए । निशुल्क स्वास्थ्य शिविरमा परिक्षण गराएकाहरुलाई औषधि समेत निशुल्क रुपमा प्रदान गरिएको थियो । मोतिया विन्दुको अप्रेसन गर्नु पर्नेहरुलाई रामलाल गोल्छा आँखा अस्पतालमा निशुल्क रुपमा गरिने व्यवस्था मिलाएको द साल्भेसन मिसनका कोषाध्यक्ष निशान लो ले जानकारी दिए ।
सोही अवसरमा स्वास्थ्यसंग सम्वन्धित सिप्ला कम्पनीले श्वास प्रश्वासको अवस्थाको परिक्षण गरि दिएको थियो ।




















