काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताउदै दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न माग गर्नुभएको छ ।
बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेता श्रेष्ठले भन्नुभएको छ, ‘अहिलेसम्म आएका तथ्यहरुले के प्रष्ट गरेको छ भने यो एसएसबीले तुइन काटिदिएकै कारण जयसिंह धामी महाकालीमा बेपत्ता भएका हुन् । म यसप्रकारको अमानवीय उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दछु । यसका निम्ति भारतले सार्वजनिक रुपमा नेपाल र नेपाली जनतासँग क्षमायाचना गर्न माग गर्दछु ।’
त्यस्तै, उहाँले संसद विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘मुलुकको यो बेहालका लागि त्यो प्रवृत्तिका बाहेक उहाँ मात्रै (केपी ओली मात्रै) जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा जिम्मेवार थिए ।’




















