उर्लाबारी ।

उर्लाबारी नगरपालिका मेयर खड्ग बहादुर फागोले कृषि भुमिको संरक्षण गर्दै धान उत्पादनमा जोड दिने बताउनु भएको छ ।

राष्ट्रिय धान दिवश अर्थात असार पन्ध्रको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै मेयर फागोले यस्तो बताउनु भएको हो ।

मेयर फागोले मानो रोपेर मुरी फलाउने दिनका रुपमा रहेको असार १५ लाई नेपाल सरकारले राष्ट्रिय धान दिवसका रुपमा मनाउन थाले पछि धान खेति गर्ने कृषकहरुमा छुटै प्रकारको हौसला बढेको उल्लेख गर्दै धानको उत्पादनमा जोड दिनुपर्ने औल्याउनु भएको छ ।

पछिल्लो समय कृषियोग्य जमिनलाई प्लटीङका रुपमा व्यावसायीकरण गर्ने चलनले धानको उत्पादनमा कमी आएका कारण धानमा नेपाल आत्मानिर्भर हुन नसकेको मेयर फागोको तर्क छ ।

उर्लाबरी नगरपालिकाको ठुलो क्षेत्र कृषि (धान) उत्पादन योग्य जमिनको रुपमा रहेको भएता पनि पछल्लो समय कृषि (धान) योग्य जमिनको प्लटीङका रुपमा व्यावसायीकरण गर्ने चलनले विगतका वर्षहरु भन्दा उर्लाबारीमा पनि धानको उत्पादनमा कमी आएका कारण कृषि भुमिको संरक्षण गर्दै धानको उत्पादन बढाउनमा उर्लाबारी नगरपालिका लागि पर्ने मेयर फागोले बताउनु भयो ।

साथै फागोले कृषकहरुको मेहनत र परिश्रमलाई सम्मान गर्दै कृषि उत्पादनलाई बृद्धि गर्ने सिचाई, मलखाद, किटनाशक औषधि, आधुनिक खेति प्रणाली र आधुनिक प्रविधीलाई क्रमश नगरमा भित्राउदै लैजाने लक्ष्यका साथ नगरपालिका अगाडी बढेको समेत बताउनु भयो ।

९ वटा वडामा विभाजित रहेको उर्लाबरी नगरपालिकाको १,२,३,८,९ नम्वर वडा धानको उत्पादन अधिक हुने वडाहरु हुन । यस वर्ष समयमै मनसुन सुरु भएका कारण ति वडाहरुमा रोपाईको चटारो लागेको छ ।