बराहक्षेत्र नगरपालिका ६ निवासी समाजसेवी टेकेन्द्र कार्कीले बराहक्षेत्र नगरपालिकालाई ३० वटा अक्सिजन सहितको सिलिन्डर सहयोग गरेका छन् । कोरोना संक्रमितहरुका लागि उपचारमा अत्यावश्यक हुने अक्सिजन अभाव भएको भन्दै कतिपय सुविधा सम्पन्न भनिएका अस्पतालहरुले समेत संक्रमितहरुलाई भर्ना लिन नमानिरहेको समयमा अक्सिजनको अभावका कारण बराहक्षेत्रमा अप्रिय घटना नघटोस् भनेर आफुले ३० वटा सिलिन्डर सहयोग गरेको समाजसेवी टेकेन्द्र कार्कीले बताए । अक्सिजन अभावकै कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर आफुले यो सेवा गरेको उनको भनाई छ । श्वासप्रश्वास समस्याका कारण ३ बर्ष सम्म औषधि उपचार गर्दा गर्दै बुवा गुमाएका कार्कीको आमालाई पनि अहिले स्वासप्रश्वासको समस्या रहेको छ । बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले कार्कीले गरेको सहयोगको प्रसंशा गरेका छन् । त्यस्तै उनले यस्तो संकटको समयमा आफुले सकेको सहयोग गरिदिन पनि आग्रह गरेका छन् । बराहक्षेत्र नगरपालिकाले संचालनमा ल्याएको आइसोलेसनमा ५० बेड सहितको रहेतापनि अति आवश्यक पर्ने अक्सिजन सिलिन्डर भने १५ थान मात्र रहेकोले आज उपलब्ध भएको अक्सिजन सिलिन्डरले बराहक्षेत्र नगरपालिका भित्र कोभिड संक्रमित बिरामिको लागि उपचारमा सहज हुने देखिएको छ ।