इटहरी । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र **‘पार्वती’**को नयाँ गीत ‘मेरी दिदी’ सार्वजनिक गरिएको छ। चलचित्रको प्रचारप्रसारलाई तीव्रता दिने क्रममा निर्माण पक्षले भावनात्मक विषयवस्तु समेटिएको गीत सार्वजनिक गरेको हो।
नीता ढुंगानाको कथा तथा निर्देशन रहेको चलचित्र ‘पार्वती’को सार्वजनिक गीतले दिदी–भाइबीचको आत्मीय सम्बन्ध, माया, स्नेह र पारिवारिक भावनालाई प्रस्तुत गरेको छ। गीतका दृश्य तथा शब्दमार्फत पारिवारिक सम्बन्धको महत्वलाई उजागर गर्न खोजिएको देखिन्छ। चलचित्रको कथासँग जोडिएको गीतले दर्शकलाई भावनात्मक रूपमा चलचित्रसँग नजिक बनाउने निर्माण पक्षको अपेक्षा छ।
चलचित्रमा नीता ढुंगाना अधिकारी, अशोक दाहाल, दिपा श्री निरौला, राज पञ्जियानी, सिरु बिष्ट, आशा पौडेल, दिप्ता प्रकाश अधिकारी, राजेन्द्र नेपाली, राधिका कँडेल र सुभाष गजुरेललगायत कलाकारको अभिनय रहेको छ।
हरिहर अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता शंकर पाण्डे हुन्। चलचित्रको पटकथा शिवम अधिकारीले लेखेका छन् भने छायांकन सुदीप बरालले गरेका छन्। चलचित्रको सम्पादन शाही खान र मिलन श्रेष्ठले गरेका छन्। पृष्ठभूमि संगीत अलिश खत्री, कला निर्देशन यज्ञसंग नुरुङ, संगीत प्रशान्त शिवाकोटी, बाबु गिरी र सिद्धार्थ शंकर पौडेलको रहेको छ।
त्यस्तै, चलचित्रको गीतमा युवराज काफ्ले, हर्का साउद, बाबुल गिरी र धीरज सापकोटा पौडेलको शब्द तथा संगीत पक्ष जोडिएको छ। चलचित्रको कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्।
‘मेरी दिदी’ गीत सार्वजनिक भएसँगै चलचित्र ‘पार्वती’को प्रचार अभियानले समेत गति लिएको छ। पारिवारिक सम्बन्ध र भावनात्मक कथावस्तुलाई केन्द्रमा राखिएको चलचित्रले दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।
चलचित्र भदौ १२ गते अर्थात् अगस्ट २८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। निर्माण पक्षले चलचित्रलाई दर्शकको साथ र माया प्राप्त हुने अपेक्षा गरेको छ।




















