इटहरी उपमहानगरपालिका ९ नं. वडास्थित मल्लिक बस्तीमा एक दिने दलित वर्गकालागि सचेतना कार्यक्रम आयोजना गरिएको छ । ९ नं. वडा कार्यालयको सहयोग र हेल्पीङ युथ सुनसरीको आयोजनामा सचेतना कार्यक्रम आयोजना गरिएको हो । मल्लिक बस्तीमै पुगेर दलितको हक अधिकार र कानूनको बिषयमा जानकारी दिइएको थियो । ९. नं. वडा अध्यक्ष भुपेन्द्र बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दलितहरुमा हुने बिभेद अन्त्यको लागी एक हुनु पर्ने र बाल बिवाह प्रर्था पूर्णरुपमा बन्द गर्नुपर्ने बिषयमा सहजिकरण गरिएको थियो । यहाँको बस्तीमा बिशेष गरि बाल बिवाह हुदै आएको छ । उमेर नपुगेका किशोरीको विवाह गर्दा कानून बिरुद्ध हुने भएकाले यस्ता कार्य नगर्न नगराउन प्रशिक्षक पेशल खतिवडाले जानकारी गराउनुभएको थियो । दलित भएकै कारण अन्याय र अत्याचार सहनु अपराध भएको र बिभेद गर्नेहरुलाई कानूनी कारबाही गर्न व्यक्तिबाटै प्रयास हुनुपर्नेमा खतिवडाले जोड दिनुभएको थियो । कार्यक्रममा वडा कार्यालयका वडासदस्य तथा आयोजक हेल्पीङ युथ सुनसरीका अध्यक्ष विकल पौडेलले समेत दलित अधिकारको बिषयमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमले आफ्नो समुदायको हक अधिकारको बिषयमा धेरै जानकारी हासिल भएको सहभागीहरुले बताएका छन् । कार्यक्रममा मल्लिक बष्तीका ३५ बढी सहभागीहरुको उपस्थिति रहेको थियो । दलित वर्गको क्षमताबृद्धिको लागि कार्यक्रम गरिएको वडा सदस्य राधिका पौडेलीले जानकारी दिनुभयो । कार्यक्रममा वडा सदस्य कुमारी देबि न्यौपाने, गणेश खत्री, शिबराम शर्मा वडा सचिव संजिव कुमार खड्का लगायतको उपस्थिति रहेको थियो ।