नेपाल निर्माण व्यवसायी महासंघले एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण सङ्गठनहरूको छाता संगठन (ईफाप्का )का महासचिव एनजी एक मेङ्गसँग भेटवार्ता गरेको छ । ईफाप्का सदस्य राष्ट्रका समस्यालाई सम्बोधन र सम्बन्ध बिस्तार गर्नका लागि पाँच दिने नेपाल भ्रमणमा आउनुभएका महासचिवलाई महासंघले स्वागत गरेको हो । महासचिवसँगको भेटपछि महासंघका अध्यक्ष रवि सिंहले महासचिवसँग सिंगापुरको विकासको प्रविधि साटासाट गर्ने विषयमा छलफल भएको बताए । उहाँले नेपालको श्रम शक्तिलाई सिंगापुरमा सीप सिक्नको लागि पठाउने र नेपाल सिंगापुरको निर्माण क्षेत्रसँग सहकार्य गर्न प्रश्ताव गरिएको बताए । अध्यक्ष सिंहले नेपालमा निर्माण श्रमिकलाई तालिम केन्द्र स्थापना गरी सिंगापुरमा श्रमिक पठाउने विषयमा छलफल भएको बताएका छन ।
ईफाप्काका महासचिव मेङ्गले नेपाल निर्माण व्यवसायी महासंघ ईफाप्काको महत्वपूर्ण सदस्य भएको बताए। उनले ईफाप्कामा १८ देशहरु सदस्यको रुपमा रहेको भन्दै सबै देशको निर्माण क्षेत्रका समस्या सुन्ने र सुधार गर्ने योजनाका साथ भ्रमण गरेको बताए । सिंगापुर र नेपालको निर्माण क्षेत्रसँगको सहकार्यमा निर्माणसम्बन्धि तालिमको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिन तयार रहेको भनिएका छ । उनले नेपाल अल्पविकसित मुलुक भएकाले निर्माण क्षेत्र सुधार नयाँ प्रविधिको माध्यमबाट गर्न आवश्यक रहेको बताए ।




















