धरान। खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ । आइतबार राति सम्म चलेको १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको हो ।वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको वार्तामा सहभागी एक जनाप्रतिनिधिले जानकारी दिए ।

 सहमतिसँगै तीन सातादेखि आन्दोलनमा उत्रिएका दल र स्थानीय उपभोक्ताले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । वार्तामा भएको सहमति आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भनिएको छ । वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, खानेपानी बोर्डको पूर्णता बारे उच्च अदालतको फैसला मान्ने र सात दिन भित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।

आइतबार दिउँसो साढे २ बजेदेखि सुरु भएको वार्ता राति अबरेसम्म चलेको थियो । उपमहानगरपालिका कार्यालयभित्र वार्ता भइरहेका बेला बाहिर आन्दोलनरत उपभोक्ता र दलका प्रतिनिधिहरुले धर्ना दिइरहेका थिए ।