कोशी प्रदेश सरकारको बजेटबाट धरान वडा १३ अमर बस्ती  खहरेमा लगाएको ग्याबिन जाली भत्काएको घटनामा संलग्न रहेको आरोपमा धरान उपमहानगरपालिका नगर प्रहरीका असई सुरेश मग्रातीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीका सादा पोसाकका प्रहरीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले बताए । असई मग्रातिलाई पक्राउ गरी इनरुवा चलान गरिएको प्रवक्ता भण्डारीले बताए ।

नगर प्रमुख हर्क साम्पाङको निर्देशनमा नगर प्रहरीका असई सुरेश मग्रातीको कमाण्डमा नगर प्रहरीको टोलीले धरान १३ अमरबतीको ग्याबिन जाली भत्काएका थिए ।मग्रातीलाई सादा पोशाकमा खटिएको प्रहरीले शुक्रवार नै पक्राउ गर्न उपमहानगरपालिका कार्यालय परिसरमा पुगेको थियो । प्रमुख साम्पाङले आफै आइतबार असई मग्रातिलाई लिएर जिल्ला प्रहरी कार्यालय इनरुवामा बुझाउने शर्तमा छोडिएको थियो ।

सार्वजनिक सम्पत्ति ग्याबिङ भत्काएकोमा बुधवार साँझ धरान १३ का ४३ वर्षीया भारती राई, ३५ वर्षीया राज कुमार राई र ३० वर्षीया पारु राईलाई  पक्राउ परेका  थिए ।  पक्राउ पर्ने ३ नै जनालाई आपराधिक उपद्रव मुद्दा चलाइएको प्रवक्ता भण्डारीले बताए।प्रदेश सरकारको बजेटमा निर्माण गरिएको ग्याबिङ जाली तोडफोड भएपछि उपभोक्ता समितिले वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा घटनाको छानबिन गरी कारबाहीको माग गर्दै निवेदन दिएका थिए । वडा कार्यालयले पनि उक्त घटनाको छानबिन गरेर कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो ।

उपभोक्ता समितिमार्फत प्रदेश सरकारको २० लाख बजेटबाट खहरे खोलाको पूर्वतर्फ ग्याबिङ जाली लगाइएको थियो । तर, हाल पक्राउ परेका स्थानीय भारती राईले खहरेको बिचमा लगाएको भन्दै मेयर हर्क साम्पाङलाई मौखिक उजुरी गरेपछि मेयर साम्पाङले डोजर लगेर भत्काइदिन नगर प्रहरीलाई निर्देशन दिएका थिए ।

नगर प्रहरी डोजर लिएर वडा १३ पुग्दा वडाध्यक्ष नेत्र काफ्ले र स्थानीयले विरोध जनाएपछि नगर प्रहरी फर्किएको थियो । केही दिनपछि भने नगर प्रमुख साम्पाङले साँझको बेला नगर प्रहरी पठाएर उक्त ग्याबिङ जाली भत्काइदिएका थिए ।