इटहरी । जाडो बढी रहेको समयमा विपन्न परिवारमा विद्यार्थीहरु न्यानो कपडाको अभावमा विद्यालय जानबाट बञ्चीत नहुन भनेर गोपाल गौरी दिगो विकास प्रतिष्ठानले इटहरीको लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको लक्ष्मी मावि मा अध्ययनरत विपन्न परिवारका ७०जना विद्यार्थीहरुलाई सुइटर वितरण गरिएको हो । विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण कार्यक्रम गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतमको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको थियो । विद्यार्थीहरुलाई सुइटर वितरण गर्दै उपप्रमुख चौधरीले गरिव विपन्नहरुलाई विभिन्न किसिमको राहत वितरण गर्ने कार्य प्रशंषायोग्य भएको भन्दै अझ यस्तै स्कुलहरुका लागि पनि यस प्रकारका कार्यक्रमहरु गरिनु पर्नेमा जोड दिइन ।
गोपाल गौरी दिगो विकास प्रतिष्ठानले विपदमा परेका तथा विपन्न असाहयहरुलाई विभिन्न किसिमका सहयोग पुर्याउदै आत्म निर्भरताका लागि विभिन्न किसिमका सिप मुलक तालिमहरु सञ्चालन गर्दै आएको संस्थाकी अध्यक्ष इन्दिरा गौतमले जानकारी गराइन । न्यानो कपडा वितरण कार्यक्रममा संस्थाका आजिवन सदस्य गोपाल घिमीरे लगायतको समेत सहभागिता रहेको थियो । काठमाडौमा केन्द्रीय कार्यालय रहेको गोपाल गौरी दिगो विकास प्रतिष्ठानले झापाको झिलझिलेमा विपन्न ,असाहय लगायतलाई लक्षित गरि विभिन्न किसिमका सिप मुलक तालिमहरु सञ्चालन गर्दै आएको छ ।




















