विराटनगर । विभिन्न कारणले दुध तथा दुग्धजन्य पदार्थको विक्री घटिरहेको छ । दुध तथा दुग्धजन्य पदार्थको विक्री घट्न थालेपछि विराटनगर दुग्ध वितरण आयोजनाले दुध खरिद घटाउने भएको छ । दैनिक २५हजार लिटर दुध संकलन गर्दै आएको विराटनगर दुग्ध वितरण आयोजनाले घटाएर दैनिक २० हजार लिटर मात्र दुध खरिद गर्ने नीति ल्याएको हो ।
पछिल्लो समयमा दुध तथा दुग्धजन्य पदार्थको विक्री ह्वातै घटेको र निजी क्षेत्रबाट सञ्चालन भई रहेका डेरीहरुले संकलन गर्ने दुधको मुल्य घटाएसंगै दुग्ध कृषकहरु दुग्ध वितरण आयोजनालाई नै दुध विक्री गर्न चाहने भएका कारण समेत खरिद गर्न सकिने अवस्था नरहेको आयोजनाका निमित्त प्रमुख परमेश्वर चौधरीले जानकारी गराए ।
दुध तथा दुग्धजन्त पदार्थको विक्री घटेसंगै विराटनगर दुग्ध वितरण आयोजनाले दुग्ध कृषकहरुको दुधको बक्यौता गत जेठ महिना देखिकै दिन सकिरहेको छैन । यही मंसिर मध्य सम्म विराटनगर दुग्ध वितरण आयोजनाले करिब २१ करोड रुपैया दुध कृषकहरुको दुधको बक्यौता तिर्न बाँकी रहेको देखिन्छ । निजी स्तरबाट सञ्चालित डेरीहरुले दुध तथा दुग्धजन्य पदार्थको विक्री घटेसंगै आफुले खरिद गर्ने दुधको मुल्य प्रति लिटर १० रुपैयाले घटाएका छन । दुग्ध विकास संस्थान अन्तरगतका संकलन केन्द्रहरुमा भने कृषकहरुले प्रति लिटर ६५ रुपैयामा दुध तथा दुग्धजन्य पदार्थको विक्री घटेपछि निजी डेरीहरुले दुधको मुल्य १० रुपैया प्रति लिटर घटाएर प्रति लिटर ५५ रुपैयामा खरिद गर्दै आएका छन । दुग्ध विकास संस्थानका संकलन केन्द्रमा दुध विक्री गर्दा कृषकहरुले ६५ रुपैया प्रतिलिटर मुल्य पाइरहेका छन । दुग्ध वितरण आयोजना तथा डेरीहरुले दुध तथा दुग्धजन्य पदार्थ विक्री गर्न नसकीरहेको समयमा बजारमा दुधको मुल्य घट्ने अनुमान गरिएको छ ।




















