इटहरी । धरान उपमहानगरपालिकाले जंगल क्षेत्रमा डढाउदै गरेको फोहोरका कारण इटहरीबासीलाई असर पुगेको भन्दै इटहरी उपमहानगरपालिकाले बारुण यन्त्र लगाएर जलाउदै गरेको फोहोरको आगो निभाई दिएको छ ।
मानव स्वास्थ्यलाई असर पर्ने गरी फोहोर डढाउदा निस्केको धुवा र प्रदुषणले उपमहानगरपालिकाको वडा नम्बर १९ र २० बासिन्दालाई असर पुर्याएको भन्दै गुनासो आएपछि इटहरी उपमहानगरपालिकाले नगरप्रहरी सहित वारुण यन्त्र पठाएर जलाई रहेको फोहोरको आगो निभाई दिएको हो ।
इटहरीका स्थानीयले जंगल क्षेत्रमा धरानले फोहोर ल्याएर डढाउदा आफुहरुलाई असर परिरहेको गुनासो गर्दै धरान उपमहानगरपालिकालाई त्यसो नगरिदिन आग्रह गरेका छन । इटहरीका एक युवाले श्रम संस्कृतिमा जोड दिदै आएका धरानका नगरप्रमुख हर्क साम्पाङलाई जंगल क्षेत्रमा फोहोर जलाएर प्रदुषण फैलाउन भन्दा वातावरण स्वच्छ वनाउन श्रमदान अभियान संचालन गरिदिन आग्रह गरेका छन ।धरान उपमहानगरपालिकाले फोहोर ल्याएर जंगल क्षेत्रमा जलाउदा धुँवा धुलोले मानव स्वास्थ्यलाई नै असर गरिरहेको भन्दै वडा नम्बर १९ र २०का जनताहरुबाट गुनासो आएपछि वाध्य भएर फोहोर जलाएको ठाँउमा नगरप्रहरी सहित वारुण यन्त्र पठाएर आगो नियन्त्रणमा लिनु परेको इटहरीका नगरप्रमुख हेमकर्ण पौडेल वताउछन । नगरप्रमुख पौडेलले मानव स्वास्थ्यलाई असर पार्ने फोहोर जंगल क्षेत्रमा नडढाएर स्थायी व्यवस्थापन उपाय खोज्न पर्नेमा जोड दिदै इटहरीका जनतालाई असर पर्ने गरी फोहोर जंगलमा ल्याएर जलाउने कार्य नगर्न पत्रचार समेत धरान उपमहानगरपालिकालाई पत्राचार गरिने जानकारी दिए ।
धरान र इटहरी उपमहानगरपालिका विच सिमाना विवाद समेत वेला वेलामा चर्चामा आउने गरेको छ । सिमा विवादका साथै अन्य विषयहरुमा समेत छलफल र वार्ताबाट समस्या समाधान खोज्नु पर्नेमा इटहरीले जोड दिदै आएको छ ।




















