राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरु सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै अध्यक्ष केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बताउनुभएको हो । उहाँले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान र राम्रो मान्छेले सपनामा पनि निर्वाचन जित्न नसक्ने बताउनु भयो । उहाँले समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायहरुका लागि राखिएको भएपनि धनाढ्य र पहुँचवालाहरु सांसद बन्ने गरेका बताउनु भयो । उहाँ शक्ति र सम्पती भएकाहरु समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै यसको औचित्यमाथि प्रश्न उठाउनु भयो ।

उहाँले निर्वाचन शिक्षा पनि अझ राम्रोसँग दिनुपर्ने बताउनु भयो । त्यस्तै विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।