विराटनगर । हिंसा भड्काउन उत्तेजित अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा पक्राउ परेका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको छ ।
सुनरीबाट पक्राउ गरिएका उनीमाथि जिल्ला प्रशासन कार्यालय धनुषामा बुधबार मुद्दा दर्ता भएको हो ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट उनलाई पक्राउ गरि बुधबार साँझ धनुषा ल्याइएको थियो । असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रमममा हिंसात्मक अभिव्यक्ति दिएका उनलाई सोही अभियोगमा मुद्दा चलाइएको हो ।
श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ । श्रीनिवासले केही दिन अगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए । हिन्दुको बिरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले त्यसको जिम्मेवारी लिने आपत्तीजनक अभिव्यक्ति दिएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।




















