सुनसरी / गोताखोरको तालिम लिइरहेका सशस्त्र प्रहरीहरुको सहभागितामा सप्तकोशीमा विपद व्यवस्थापन सम्वन्धीमा कृतिम अभ्यास गरिएको छ ।
सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय पकलीले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा सञ्चालन गरिरहेको गोताखोर तालिममा सहभागीहरुले पानीमुनीबाट गरिने उद्धार तथा अप्रेसनको कृतिम अभ्यास प्रस्तुत गरेका हुन । हाल मुलुकभर ७२ जना गोताखोर रहेको र अझ वढी गोताखोर तयार पार्ने उद्धेश्यले तालिमको सञ्चालन गरिरहेको सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले वताए ।उनले सशस्त्र प्रहरी वलको केन्द्रले गोताखोर वढाउने लक्ष्य अघि सारी रहेको र तालिम पछि २० जना गोताखोरहरुलाई कोशी प्रदेशमै खटाउने समेत लक्ष्य राखिएको जानकारी गराए ।
तालिममा सशस्त्र प्रहरी वलका २० जनाको सहभागिता रहेको छ भने तालिममा सप्तकोशी र फेवा तालमा अभ्यास प्रशिक्षण गराइदै आएको छ । गत भाद्र १७ गतेबाट सुरु भएको ३५ दिने तालिम अझै केही दिन सञ्चालन हुने जनाइएको छ । कृतिम अभ्यास अवलोकन कार्यक्रममा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मी लगायतको सहभागिता रहेको थियो ।




















