नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताउनुभएको छ ।
त्यस्तै सचेतक बर्तौलाले नेपालगञ्जका चेतन मानन्धरलाई २०७२ असार २८ गते दिउँसै खुडा प्रहार गरी हत्या गरेर आजीवन कारावासको सजाय भोगिरहेको रिगल डन भनिने योगराज ढकाललाई सरकारले कैद मिनाहा गरेकोप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले सरकारको निर्णयलाई राष्ट्रपतिले लाल मोहर लगाएको भन्दै संविधान र कानूनले दिएको अधिकार गृहमन्त्रीले दुरुपयोग गरेको बताउनु भयो । सरकारको यस कदमले व्यवस्था, संविधान र कानूनमाथि नै प्रश्न सिर्जना गरेको उहाँको भनाई छ ।




















