इटहरी । इटहरीका अग्रणी फोटो पत्रकार तथा डिजिटल फोटो पत्रकारिताका सुरुआती पुस्ताका व्यक्तित्व विशप ताम्राकारको निधन भएको छ। शनिबार राति पोखरास्थित आफ्नै निवासमा उनको निधन भएको हो।

फोटो पत्रकार टीका लिम्बूका अनुसार केही समयअघि ताम्राकारको कलेजोमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं हुँदै भारतको नयाँ दिल्ली लगिएको थियो। उपचारपछि उनी पोखरास्थित निवास फर्किएका थिए।

ताम्राकार इटहरीमा डिजिटल फोटो पत्रकारिताको प्रारम्भिक चरणदेखि नै सक्रिय रहँदै आएका थिए। उनले विभिन्न सञ्चारमाध्यमसँग आबद्ध भएर फोटो पत्रकारितामार्फत लामो समयसम्म महत्वपूर्ण योगदान दिएका थिए। पत्रकारिता क्षेत्रमा उनको व्यावसायिकता, समर्पण र सिर्जनशील कार्यशैलीका कारण उनी सहकर्मीमाझ सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए।

स्वर्गीय ताम्राकारका श्रीमती र एक छोरी छन्। उनी एसओएस बालग्राम इटहरीका पूर्व निर्देशक तथा एसओएस बालग्राम नेपालका पूर्व नायब राष्ट्रिय निर्देशक रमेश ताम्राकारका जेठा छोरा हुन्।

उनको निधनप्रति सञ्चार तथा फोटो पत्रकारिता क्षेत्रमा शोक व्यक्त गरिएको छ। सहकर्मी फोटो पत्रकार टीका लिम्बूले ताम्राकारको निधनले नेपाली फोटो पत्रकारिता क्षेत्रले एक अनुभवी, मेहनती र समर्पित फोटो पत्रकार गुमाएको भन्दै यसलाई अपूरणीय क्षति भएको बताएका छन्।