सुनसरी । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता केदार कार्कीले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग भेट गरी घटनाको निष्पक्ष छानबिन गर्न र पीडितलाई न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।
देवानगञ्ज पुगेर घटनास्थलको अवलोकन तथा पीडित परिवारसँग भेटघाट गरेका कार्कीले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताए।
उनले पछिल्लो समय देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै यस्ता घटनाले सामाजिक सद्भाव र सहअस्तित्वमा नकारात्मक प्रभाव पार्ने भएकाले सबै पक्षले संयमता र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्कीले राज्यको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्नु भएकाले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।
गत साता सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो।
भेटका क्रममा उनले उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीय तहमा सामाजिक सद्भाव, आपसी विश्वास र शान्ति कायम राख्न राजनीतिक दल, स्थानीय समुदाय तथा सबै सरोकारवाला पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए।




















