विराटनगर । विराटनगर  स्थित कोशी प्रदेशकै ठुलो कोशी अस्पतालले भाद्र १ गते देखि मोबाइलबाट नाम दर्ता गराउन सक्ने गरी अनलाइन टिकट प्रणाली शुरु गरे पनि प्रभावकारी भने हुन सकेन । सेवाग्राहीले अनलाइन मार्फ टिकट काट्ने कार्य  भन्दा पनि आफै उपस्थित भएर लाइनमा लाग्दा भिडभाड घट्न सकेको छैन । धेरै भिडभाड भयो भनेर सजिलोको लागि सुरु गरिएको अनलाइन टिकट प्रणाली प्रभावकारी हुन नसक्दा अझै पनि सेवाग्राहीहरुले भिडभाड गरेर टिकट काटिरहेका छन् । कोशी अस्पतालको ओपिडी सेवामा दैनिक करिब १ हजार २ सय विरामीहरु उपचारका लागि आउने गर्दछन । कोशी अस्पतालमा दैनिक २ सय जनाले मात्र अनलाइन मार्फ टिकट काट्ने गरेको अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. चन्द्रभाल झाले जानकारी दिए । 

अनलाइन प्रणालीलाई अझै प्रभावकारी रुपमा प्रयोग गर्न कोशी अस्पतालले सेवाग्राहीहरुलाई आग्रह गर्ने गरेको छ । सवाग्राहीहरुलाइ सजिलो होस भनेर घरबाटनै टिकट काट्न सजिलोको लागि अनलाइन सेवा सुरु गरिएको हो । अघिल्लो दिन बिहान ८ बजे देखि १ बजे सम्म अनलाइनमा दर्ता भएका विरामीहरुले भोलीपल्ट सम्बन्धित विभागमा उपचार पाउने गरेका छन । यसैबीच कोशी अस्पतालमा विरामीहरुले उपचार नपाएको र चिकित्सकहरु समयमा नआउने गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सहितको टोलीले अनुगमन  गरेको छ । सवाग्राहीले चिकित्सकलाई भेटे पनि रिपोर्ट देखाउने बेतालमा चिकित्सक नभेट्दा फेरी भोलिपल्ट आउनु पर्ने गुनासो आएपछि महानगरले अनुगमन गरेको हो ।