उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायतका त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ ।जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । अस्पतालका फिजिसिएन डा राहुल रैनियारका अनुसार अहिले नयाँ भाइरसका रुपमा देखिएको स्क्रब टाइफसको उपचारका लागि दैनिक पाँचदेखि दश जनासम्म बिरामी अस्पताल आउने गरेका छन् । सुरुमा यस रोगको लक्षण अनियमित ज्वरो आउने, शरीर तथा छालामा राता डाम्रा देखा पर्नेलगायत रहेका उनले बताए ।
उदयपुरमा हाल डेङ्गु, मौसमी र भाइरल ज्वरोका साथै आँखा पाक्ने सङ्क्रमण न्यून हुँदै गइरहेको बेला स्क्रब टाइफसको सङ्क्रमण देखा परेको चिकित्सकको भनाइ छ ।




















