काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको सरकारी वकिलको कार्यालयका महेश खत्रीले बताए    ।सरकारी वकिलले संगठित अपराधमा मुद्दा नचल्ने निर्णय गरेको छ ।

सीआईबीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि प्रतिवादी बनाउन सिफारिस गरेको थियो । तर, सरकारी वकिलले शाहलाई प्रतिवादी बनाउनुनपर्ने निर्णय गरेको छ । सीआईबीको अनुसन्धानमा उनले तत्कालीन जिल्ला मालपोत कार्यालय, भक्तपुरको प्रमुख रहँदा भूमाफियालाई सहयोग गर्ने गरी काम गरेको खुलेको थियो । सुधीर पत्नी उर्मिला शाह र गेहनाथ पत्नी भुवनकुमारी चापागाईंको नाममा कित्ता नं। ३६ को १ रोपनी २ पैसा जग्गा पनि भेटिएको थियो । तर, सीआईबीले उनलाई प्रतिवादी बनाएन । बरु सीआईबीले प्रतिवादी बनाउन नपर्ने भनेको सचिव कृष्णबहादुर राउतलाई भने प्रतिवादी बनाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ । यो प्रकरणमा १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।