चितवन । एक करोड ३६ लाख १० हजार ४२५ रुपैयाँको लागतमा रोटरी क्लब अफ नारायणघाटले माडीको अम्रौलीमा सिंचाई आयोजना सुरु गरेको छ ।
आकाशे पानीको भरमा खेती गर्दै आएका माडी नगरपालिका वडा नम्बर चार को अम्रौली र विराचीका कृषकको लागी सोलारमा अधारित बोरिङ स्थापना गर्न उक्त आयोजना निमार्ण गर्न लागिएको हो । माडी नगरपालिका प्रमुख ताराकाजी कुमारी महतो र क्लबका अध्यक्ष भोला लामिछानेले शिलन्यास गरेको उक्त आयोजनाले करिब ६६ विगाहा जग्गा क्षेत्रफलमा सिंचाई गराउन सकिने छ ।
रोटरी डिष्ट्रिक ११६० अन्र्तगतको आयरल्याण्डका सात वटा क्लबको सहयोग रहेको उक्त आयोजनाकालागि बेलायतमा बस्दै आएका विनोद कर्माचार्यले सहजीकरण गर्नुभएको रोटरी क्लब अफ नारायणघाटका अध्यक्ष भोला लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार अकासे पानीको भरमा खेतीगर्ने किसानलाई रोटरी क्लब अफ नारायणघाटले सौर्य ऊर्जामा आधारित सिँचाइ आयोजना सुरु गरेको हो ।
अध्यक्ष लामिछानेले एक वर्षभित्र आयोजना पूरा गरेर समुदायलाई हस्तान्तरण गर्ने बताउदै ’उपभोक्ता लाभान्वित भएर जीवनयापन सहज भए मात्रै हाम्रो अभियान सफल हुने हो,’ लामिछानेले भन्नुभयो, ’विपन्न कृषकलाई लक्षित गरेर आयोजना सुरु गरेका हौ ।”
शिलान्यासका क्रममा बोल्नुहुदै प्रमुख अतिथि मेयर महतोले विपन्न गाँउमा रोटरीले परोपकारी काम गरेको भन्दै रोटरीको अभियान प्रशंसनीय रहेको बताउनुभयो ।
अन्य गैर सरकारी निकाय भन्दा फरक रहेको रोटरी क्लब डिष्ट्रिक ३२९२ नेपाल भुटानका एसिस्टेण्ट गर्भनर दिनुप बरालले विश्वभरका रोटरीले उठाएको पैसाबाट बनेको ग्लोबल बजेटबाट रोटरीले सामाजिक काम गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ नारायणघाटका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले स्वार्थभन्दा माथी सेवा भन्ने रोटरीको उद्देश्यलाई आत्मसाथ गर्दै नारायणगढ रोटरीले सामाजिक विकासको लागी नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष गुणेश्वर महतो, सचिव सेवन पन्तले सिंचाई आयोजना वारे जानकारी गराँउदै खेतीयोग्य जमिन धेरै भएको तर सिंचाई नभएको कारण अम्रौलीमा बोरिङ राख्न लागेको जानकारी गराउनु भयो ।




















