राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो केन्द्रीय कार्यालय खाली गराउन काठमाडौं महानगरपालिकासँग ३५ दिन समय माग, राप्रपाका केही नेताहरु आजै महानगर पुगेर प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारीलाई पत्र बुझाएका छन्।
महानगरले धुम्बाराहीस्थित राप्रपाको कार्यालय खाली गराउन सोमबारसम्मको अल्टिमेटम दिएको थियो । राप्रपाले भने कानून बमोजिम ३५ दिनको समय मागेको भने राप्रपाका मुख्यसचिव केदारबहादुर अधिकारीले भने, ‘हामीले भवन खाली नगर्ने भनेका छैनौं । तर, कानूनअनुसार सूचना जारी गरेको मितिले ३५ दिन समय चाहिन्छ भन्ने हाम्रो माग हो ।’
महानगरका प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारी भने थप ३५ दिन समय उपलब्ध गराउन नसकिने भन्छन्। गत वर्षको असोजमा नै महानगरले माइकिङ गरेको तर, राप्रपाले त्यसलाई गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ । ‘पब्लिकले हाइटेन्सनमुनि घर बनाउनै नपाउने, तर राजनीतिक दलले छुट पाउने कुरा कुनै पनि धारणाले मिल्दैन । नक्सापास बिना त्यहाँ घर बनाउन पाउने कुनै आधार नै छैन । विद्युत प्राधिकरणले त यो घर एक सेकेन्ड पनि रहन दिनुहुँदैन भनेको छ । पानी परेको बेला मान्छे छतमा गएको बेला करेन्ट लाग्ने सम्भावना हुँदो रहेछ,’ उनले भने । महानगरले राप्रपालाई लिखित पत्र भने अहिलेसम्म दिएको छैन । अधिकारी भने गोरखापत्रमा तीन महिना अगाडि सार्वजनिक सूचना जारी गरिएकाले लिखित पत्र दिइरहनु नपर्ने बताउँछन् ।अहिले पनि सामान सार्न एक हप्ता(दश दिन समय माग्नु हुन्छ भने सोच्न सकिन्छ भनेका छौं’, उनले भने ।
आजै राप्रपाको भवन भत्काउने योजनाका साथ महानगरबाट ३०० नगरप्रहरीसहित डोजर परिचालन भइसकेको छ । अहिले राप्रपाको कार्यालयबाट करिब ३०० मिटर दुरीमा डोजर राखेर नगरप्रहरीहरु बालेनको आदेश पर्खेर बसिरहेका छन् । टोलीको नेतृत्व नगर प्रहरी प्रमुख राजु पाण्डेले गरेका छन् ।
नगर प्रहरी स्रोतले भन्यो, ‘हामी यहाँ स्ट्यान्ड बाइ छौं । जतिबेला आदेश आउँछ, तत्काल भवन भत्काउन कुनै समस्या छैन ।’




















